काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा-२ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका कार्यकर्ताले हँसिया हथौडामा र माओवादी केन्द्रका कार्यकर्ताले रुखमा भोट हाल्न हात कमाउन नहुने बताएका छन्।
शनिबार गोरखामा आयोजित उम्मेदवारको परिचयात्मक तथा अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै उनले अर्को पार्टीमा कसरी भोट हाल्ने भनेको सुनिरहेको भन्दै शान्ति सम्झौता र संविधान सभाको महत्त्व बुझ्न सुझाए।
‘अहिले नेपाली कांग्रेस वा नेकपा माओवादी केन्द्र वा समाजवादीको होस्, कसरी रुखमा भोट हाल्ने सुन्छु म, अर्कोतिर कसरी हँसिया हथौडामा भोट हाल्ने भनेको सुन्छु म। यदि तपाईंहरुलाई रुखमा भोट हाल्न मन लाग्दैन भने, हात उठ्न गाह्रो मानेको छ भने, या हँसिया हथौडामा भोट हाल्न हात कामेका छन् भने तपाईंहरुले विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन। तपाईंहरुले संविधान सभाको महत्त्व बुझ्नुभएको छैन भन्ने नै प्रमाणित हुन्छ’, उनले भने।
प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु भनेको आफूले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा भोट हालेको अर्थ लगाए। ‘गिरिजाबाबु र मैले, मैले त रुखमा त्यतिबेलै भोट हालिदिएको हो। गिरिजाबाबुसँगै भोट हाल्नु भनेको प्रचण्डले रुखमा भोट हाल्नु हो। गिरिजाबाबुले प्रचण्डसँग भोट हाल्नु भनेको उहाँले हँसिया हथौडामा भोट हालेको हो’, उनले भने।
कोइरालालाई एकातिर राजनेता, महानायक, शान्तिका नायक भन्ने र अर्कोतिर भोट हाल्न हात काम्ने भन्यो भने त्यो सम्झौता बुझेको नठहरिने उनको भनाइ थियो। ‘त्यो इतिहासको सच्याइलाई, परिवर्तनको महत्त्वलाई बुझेको ठहरिन्छ त?’, उनले प्रश्न गरे।
प्रचण्डले परिवर्तन, संविधान र लोकतन्त्र रक्षाको कुराको जग बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता भएको बताए। ‘जसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेका छौँ। त्यहीँबाट नयाँ राजनीतिक परिवर्तनको युग सुरु भएको हो। त्यो कामको नेतृत्वको, अरु सबैको सहयोग नभइकन त गिरिजाबाबु र मैले गरेर हुने कुरा त होइन, त्यसको पछाडि पार्टी, आन्दोलन, जनता सबैको भावना र चाहना मिलेकै हुनाले विस्तृत शान्ति सम्झौता भएको हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।