काठमाडौं– पूर्वसभामुख ओनसरी घर्तीले जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत् मतदानका लागि अपिल गरेको भिडियो क्लिप सार्वजनिक गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी घर्तीले जनताको विकासको चाहना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताइन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्तागत विकास र देशको समृद्धि अहिलेको आवश्यकता भएको उनको भनाइ छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि आजको प्रमुख आवश्यकता हो’, उनले भनेकी छन्, ‘त्यही आवश्यकता पूरा गर्न र काठमाडौं–२ का जनताको विकासको चाहना सम्बोधन गर्न वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट हामी यहाँहरुका बीचमा आएका छौं।’
घर्तीले काठमाडौं–२ का मतदाताको भावनाको पूर्ण सम्मान गर्दै उनीहरुको सुख दुःखमा सँग–सँगै रहने प्रतिबद्धता जनाएकी छन्। घर्तीले आफूलाई संघ तथा प्रदेशमा काठमाडौं–२ (क) मा कांग्रेस उम्मेदवार ध्रुव केसी र २ (ख) म नेकपा एकीकृत मसाजवादीका भरतप्रसाद फुयाँललाई जिताउन अपिल गरिन्।
पूर्वसभामुख घर्तीलाई सत्तारुढ गठबन्धनले काठमाण्डौं–२ बाट उम्मेदवार बनाएको हो। सो निर्वाचन क्षेत्रमा यसअघि ०७४ मा एकीकृत समाजवादीका माधवकुमार नेपाल निर्वाचित भएका थिए। नेपाल यसपटक रौतहट–१ बाट प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनका उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।