काठमाडौं- निर्वाचन आयोगले पत्रकार तथा सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ।
शुक्रबार आयोगले काउन्सिललाई पत्र पठाउँदै निर्वाचन आचारसंहिता कार्यान्वयनको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नियमित अनुगमन गर्न भनेको हो।
नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको नियमित अनुगमन गर्न आयोगले भनेको छ।
यस्तै, पत्रकार आचारसंहिता पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमन सम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमहरुलाई आह्वान गर्ने र त्यसका लागि आवश्यक व्यवस्था गराउन आयोगले प्रेस काउन्सिललाई आग्रह गरेको छ।
पत्रकार आचारसंहिता, २०७३ को दफा १२ मा प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकोले सो अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गरी त्यसको एक प्रति आयोगमा उपलब्ध गराउन प्रेस काउन्सिल नेपाललाई आयोगले पत्र लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।