काठमाडौं– निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ।
कल सेन्टरबाट सेवा लिनका लागि ११०२ मा कल गर्न सकिनेछ। यसमा फोन गर्दा पैसा लाग्दैन। शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे।
उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी समेत दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्ने, ‘यसबाट भरपुर सेवा लिनका निमित्त सबैप्रति म हार्दिक आग्रह गर्दछु। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने काममा आयोग केन्द्रित रहेको जानकारी पनि गराउन चाहन्छु ।’
कल सेन्टरमा निर्वाचन सम्बन्धी सबै जिज्ञासाहरु सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।