काठमाडौं– सत्ता गठबन्धनले सर्लाही–२ मा गठबन्धनको अधिकारिक उम्मेदवार महिन्द्र राय यादव रहेको जनाएपछि लोसपाले आपत्ति जनाएको छ।
सर्लाही–२ मा माओवादी केन्द्रको तर्फबाट यादव र लोसपाको तर्फबाट राजेन्द्र महतो उम्मेदवार बनेका छन्। दुवै उम्मेदवार गठबन्धनको भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको लोसपाले जनाएको छ।
तर, बुधबार अनावश्यक भ्रम छर्ने गरि गठबन्धनले विज्ञप्ति जारी गरेको लोसपाको आरोप छ। गठबन्धनले यादव प्रतिनिधि सभामा र प्रदेशतर्फ सर्लाही– २ (क) मा सुनिल साह र प्रदेश सभा (ख) मा कौशल किशोर राय यादव औपचारिक उम्मेदवार भएको बताएको थियो।
बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरी लोसपा र सत्ता गठबन्धनको नेतृत्व गर्ने दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच असोज २२ गते भएको सहमतिविपरीत गठबन्धनको विज्ञप्ति आएको बताएका छन्।
अध्यक्ष ठाकुरले सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा हुने, सर्लाही २ को (क) मा कांग्रेस, (ख) मा लोसपा, सर्लाही–१ को (क), महोत्तरी–१ (क) र महोत्तरी–१ (ख) मा लोसपाको उम्मेदवार रहने सहमति भएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।