काठमाडौं– संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोप लागेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई थुनामुक्त गर्ने फैसला गरेको छ। सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई बुधबार थुनामुक्त गर्न फैसला गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए।
यसअघि सोही अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। अदालतको फैसलापछि साहु थुनामुक्त भइसकेका छन्।
साहुले संगठनको गोप्य सूचना तथा जनशक्ति सम्बन्धी विवरण संचार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोप लगाइएको थियो।
संगठनको गोप्य र संवेदनशील सूचना भाइबरलगायत सामाजिक संजालमार्फत् संचारमाध्यमलाई उपलब्ध गराउने गरेको तथा संगठन विरुद्ध बेनामी उजुरीसमेत हालेको उनीमाथि आरोप थियो।
साहु २५ नम्बर चण्डिका गण हेडक्वाटर, पर्वत दरबन्दी भई ४४ नम्बर गण हेडक्वाटर दार्चुलामा कार्यरत थिए। उनले सशस्त्र प्रहरी ऐन तथा नियमावलीको बर्खिलाप गरेको पाइएको भन्दै त्यतिबेला पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
अदालतले उनलाई थुनामुक्त गर्दै विभागीय कारबाहीका लागि भने सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।