काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले अछाम–१ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएर पनि पार्टी अध्यक्ष केपी ओलीले आफूमाथि षडयन्त्र गरेको आरोप लगाएका छन्। ओलीको षडयन्त्रकै कारण आफू उम्मेदवार बन्नबाट बञ्चित भएको रावलको दाबी छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले आगामी मंसिर ४ गत हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आफूलाई जिल्लाले भदौ १९ गते एकल सिफारिस गरेको दाबी गरे। उनले पार्टी अध्यक्ष ओलीले एमालेमा कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएको टिप्पणी गरे।
रावलले आफूमाथि सम्पर्कविहीन भनेर कुप्रचार गरेको आरोप लगाए। उनले केपी ओली र पार्टीका अन्य एकल उम्मेदवारीबारे छलफल नभएको र आफूमाथि षडयन्त्र गर्दै प्रतिनिधि सभाको उम्मेदवार बन्नबाट रोकेको आरोप लगाए।
नयाँलाई अवसर दिने हो भने पार्टी अध्यक्ष र निकटलाई त्यो नियम किन लागू नभएको भन्दै रावलले आक्रोश पोखे। ‘होली वाइन’ भनेर चिनिएका एकनाथ ढकाललाई समानुपातिक सूचीमा राखेकोप्रति पनि रावलले आक्रोश पोखे।
जसपासँग चुनावी गठबन्धन गरेका विषयमा पनि रावलले आपत्ति जनाए। उनले लोसपाका मान्छेलाई बिहान पार्टी प्रवेश गराएर दिनमा उम्मेदवार बनाएको दाबी गरे।
उनले पार्टी अध्यक्ष संसद्मा अत्यन्तै संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने गरेको आरोप लगाए। आफूलाई बोल्न मन लागेको बेलामा मात्रै अरुलाई उर्दि गरेर झुल्किने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।