काठमाडौं– दरबारमार्गस्थित क्लब प्लाटिनममा बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहार गरेको आरोप लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिक खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन्। उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार भएका थिए।
त्यसपछि घटनाको अनुसन्धानमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।