डडेलधुरा- डडेलधुरामा प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय कार्यान्वयन हुने एमालेले जनाएको छ।
एमालेको केन्द्रबाट नै स्नेहीको उमेदवारी फिर्ता गर्न पहल भएको एमाले डडेलधुराका सचिव गजेन्द्र शाहीले बताएका छन्।
यसैगरी, कांग्रेसका बागी उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
एकीकृत समाजवादीबाट भर्खरै एमालेमा फर्केर स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीको उम्मेदवरी भने कायम छ।
प्रदेशसभा–१ मा कांग्रेस बीपीका गणेशप्रसाद जोशी र प्रदेशसभा–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उमेदवारी फिर्ता लिएका छन्। एमालेलाई सघाउन जोशीले उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार प्रतिनिधि सभातर्फ कायम रहेका छन्। देउवासँगै नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।