बुटवल– रुपन्देही–३ प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका इम्दाद हुँसेन खा र रुपन्देही–३ प्रदेश सभा (क)मा माओवादीका तर्फबाट उम्मेदवारी दिएका फैज अहमद खाँले उम्मेदवारी फिर्ता लिएका छन्।
रुपन्देही–३ मा सत्ता गठबन्धनको तर्फबाट गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेदवार छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको फैज अहमद खानले जानकारी दिए। उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
‘हामीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेदवारलाई हराउन उम्मेदवारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने।
प्रतिनिधि सभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेदवारी फिर्ता लिएको बताए।
निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ। फैज र इम्दाद नाताले बाबु छोरा हुन्। फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन्।
रुपन्देही–३ मा प्रतिनिधि सभातर्फ खाण र प्रदेश सभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।