काठमाडौं- निर्वाचन आयोगले गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणहरू सार्वजनिक गरेको छ।
आउँदो मंसिर ४ गतेका लागि तय गरिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगल उक्त प्रतिबन्धात्मक प्रावधानहरू सार्वजनिक गरेको हो।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार यी संस्थामा काम गर्नेले प्रचारप्रसार, सर्वेक्षण लगायत गर्न नपाउने उल्लेख गरेको छ।
यस्ता छन् पालना गर्नुपर्ने आचरण :
१. राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने
२. कुनै योजनाको शिलान्यास गर्ने, उद्घाट गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने
३. कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसारको प्रायोजन गर्न नहुने
४. निर्वाचन शिक्षा सम्बन्धी प्रचारप्रसार बाहेक कुनै राजनीतिक प्रकृति कार्यक्रम गर्न नहुने
५. निर्वाचन वा मतदाता शिक्षालाई प्रभावित गर्ने उद्देश्यले कुनै सहयोग, पुरस्कार, सामग्री प्राप्त गर्न नहुने
६. कुनै पनि स्रोत नखुलेको रकम प्राप्त गर्न नहुने। कार्यालयमा निर्वाचन सम्बन्धी शिक्षामूलक सूचना सामग्री टाँस्न तथा प्रयोग गर्न बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न वा राख्न नहुने
७. आफू वा आफू सम्बद्ध संस्थाको तर्फबाट कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने
८. सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत् मत माग्न नहुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।