काठमाडौं– रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भयो। एमालेबाट यो क्षेत्रमा उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन्। कांग्रेसको बलियो जनाधार रहेको यो क्षेत्रमा सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा परेको थियो।
गुरुङलाई चेक अनादरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले जरिवाना गर्ने फैसाला गरेको थियो। गुरुङले उक्त जरिवाना भुक्तान नगरेको विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुर परेको थियो। त्यसैका आधारमा उनको उम्मेदवारी खारेजीमा परेको थियो।
यस्तै, कैलाली–५ बाट उम्मेदवारी दिएका लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भयो। उनले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए। थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ मा भएको हिंसात्मक आन्दोलनको दोषी ठहर गरि उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा उनलाई जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता थारु फरार छन्। उनले वारिसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए।
यता, सोही पार्टीबाट उम्मेदवारी दिएका संस्थापक अध्यक्ष रेशम चौधरीको पनि उम्मेदवारी खारेजी भएको छ। उनको उम्मेदवारी बर्दिया–२ बाट परेको थियो। चौधरी टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका छन्।
२०७४ को निर्वाचनमा फरार रहेकै अवस्थामा चौधरी कैलाली–१ बाट निर्वाचित भएका थिए। तर, उनी पक्राउ परेपछि भने उनको सांसद पद खारेज भएको थियो।
उक्त पार्टीका २ उम्मेदवारको उम्मेदवारी खारेजीमा परेपछि अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई अन्याय भएको बताएकी छन्।
रुपन्देही–२ मा उम्मेदवारी खारेजीमा परेका गुरुङले भने सर्वोच्चमा मुद्दा दायर गर्ने घोषणा गरेका छन्।
त्यस्तै, रुपन्देही–२ बाटै उम्मेदवारी दिएका कमल भुसाल (डा निकोलस) को पनि उम्मेदवारी खारेजीमा परेको छ। उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए। उनीमाथि नेपाल सरकारको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेको र सरकारबाट आर्थिक लाभ लिइरहेको उजुरीका आधारमा उम्मेदवारी खारेजीमा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।