काठमाडौं– प्रहरी भन्दै एक युवकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान भएका छन्।
जेल चलान हुनेहरुमा रामेछापको सुनापति गाउँपालिका–१ तितुङटोलका २० वर्षीय रोहित भनिने मिनबहादुर तितुङ, सिन्धुलीको मरिण गाउँपालिका–३ का ३० वर्षीय देवराज वाइवा, र भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का २९ वर्षीय योगेन्द्र तामाङ छन्।
अपहरण तथा डाँका कसुरमा पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
अदालतको आदेशपश्चात उनीहरुलाई डिल्लीबजार कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
गत साउन २२ गते राति ८ बजेतिर काठमाडौं–२६ म्हेपी पानीट्यांकीस्थित भित्री सडकमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका एक युवालाई उनीहरुले अपहरण गरेका थिए। हनुमानढोकाबाट आएको प्रहरी हौं भन्दै मोटरसाइकलमा राखेर यो समूहले अपहरण गरेको थियो।
अपहरण गरेर डल्लुस्थित बिष्णुमति खोला किनारमा पुर्याएर उनको साथमा रहेको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटपाट भएको थियो। घटनाको केही समयपछि यो गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।