काठमाडौं– सरकारी कर्मचारी र शिक्षकले उम्मेदवारसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखे निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
आयोगले सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरुले निर्वाचन आचरण पालना नगरेको भन्दै कारबाहीको चेतावनी दिएको हो।
आयोगले आचारसंहिताको प्रतिकूल हुनेगरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा त्यसमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको जनाएको छ।
त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्बिर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको सेयर र लाइक गर्ने गरेका घटना अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको जनाएको छ।
निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरेको छ।
आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा सामाजिक सञ्जालमार्फत् मत माग्न नहुने व्यवस्था गरिएको छ।
उक्त व्यवस्था उल्लंघनकर्तालाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।