नुवाकोट– नेकपा माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीपत्नी राममायाले बागी उम्मेदवारी दिएकी छन्। आफूले पाएको टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दिएकी हुन्।
माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को (ख) मा टिकट दिएको थियो। तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र टिकट खोसिएपछि उनले बागी दिएकी हुन्।
सत्ता गठबन्धनबीचको भागबण्डामा नुवाकोट–२ (क) नेकपा एकीकृत समाजवादी र (ख) माओवादी केन्द्रको भागमा परेको थियो। तर, अन्तिम समयमा कांग्रेस र माओवादीले अघिल्लो निर्णय उल्ट्याउँदै प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका थिए।
नुवाकोट–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो। प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन्।
प्रदेश (क) मा समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी र (ख) मा माओवादीबाट बोगटीले लगिसकेको टिकट अन्तिम अवस्थामा खोसिएको थियो। समाजवादीको भागमा परेको प्रदेश (क) मा
माओवादीबाट पञ्चायतकालीन उपसभापति रामप्रसाद ढुंगाना र माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन्।
बोगटीले आफूले पहिला टिकट पाएको भन्दै उम्मदेवारी फिर्ता नलिने अडान राखेकी छन्। यस्तै, प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएका लोहनीले माओवादीबाट उम्मेदवारी दिएका ढुंगानाको उम्मेदवारी कायमै रहे गठबन्धन छाड्ने चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।