काठमाडौं- नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका सचेतक खिमलाल भट्टराईको प्रतिनिधि सभा उम्मेदवारी खारेज भएको छ भने राष्ट्रिय सभाबाट आइतबारै सांसद् पद गुमाइसकेका छन्।
रुपन्देही–५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने नेकपा एमालेका दुईटा उम्मेदवार भएपछि उनको खारेज गरिएको हो। एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।
आइतबार रूपन्देही–५ मा एमालेका दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले साँझ ५ बजे उम्मेदवारी दर्ता गराएका थिए।
भट्टराईले त्यसअघि राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। आइतबार दिउँसै सूचना टाँस गरेर राजीनामा समेत स्वीकृत भइसकेको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
एमालेले सुरुमा घिमिरेलाई टिकट दिएको थियो। भट्टराईले चर्को लबिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गर्ने अनुमति दिएका थिए।
निर्वाचन निर्देशिका २०७९ मा एउटै पार्टीको दुई वटा उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणि शर्माले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) मा ‘दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने’ उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।