बाजुरा– बाजुराको चुनावी रस्साकस्सी यसपल्ट रोचक बन्ने भएको छ। किनभने मुख्य दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका दोस्रो ठूला नेतालाई उठाएका छन्।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापछिका सुदूरपश्चिम प्रदेशका नेता सहमहामन्त्री बद्री पाण्डे रुख चिह्नबाट मैदानमा छन्।
एमालेबाट प्रदेश इञ्चार्ज तथा सचिव लेखराज भट्टपछिका सहइञ्चार्ज तथा स्थायी कमिटी सदस्य कर्ण थापा सूर्य चिह्नबाट चुनाव लड्दैछन्। मुख्य भिडन्त उनीहरुको हुने भएपनि उम्मेदवार भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही र टेकबहादुर बडुवालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका ९ स्थानीय तहमध्ये ६ वटामा एमालेले जितेको छ। तीन नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेको हो। नेपाली कांग्रेसले भने एक नगरपालिका र दुई गाउँपालिका गरी तीन वटामै चित्त बुझाएको छ।
वडाध्यक्षका आधारमा मत केलाउँदा पनि एमाले नै बलियो शक्ति देखिन्छ। निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिष्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ। माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेदवारहरुले ५ सय ८४ मत प्राप्त गरेका छन्।
प्रदेश ‘क’ मा दुवैको बागीले बिगार्ने गणित
एउटा मात्रै निर्वाचन क्षेत्र भएको बाजुरामा गठबन्धन दलहरु एकैठाउँ उभिने हो भने एमाले २ हजार १ सय ५८ मतले पछि पर्ने देखिन्छ। तर, प्रारम्भिक अवस्था हेर्दा स्थानीय तहको अवस्था दोहोरिने देखिन्छ। बाजुरामा फेरि गठबन्धन भाँडिने संकेत देखिएको छ।
सत्ता गठबन्धनले बाजुराको प्रदेश सभा ‘क’ माओवादी केन्द्रको भागमा पारेको छ। त्यही अनुसार कर्णबहादुर बिकले उम्मेदवारी दिएका छन्। तर, स्थानीय तहको निर्वाचन समेत गठबन्धनबाट धोका खाएको एकीकृत समाजवादीले चित्त बुझाएको छैन। उक्त पार्टीका राष्ट्रिय युवा संघ अध्यक्ष समेत रहेका नरेशकुमार शाहीले कलम चिह्नबाट चुनाव लड्नेगरी उम्मेदवारी दिएका छन्।
एमालेलाई पनि उक्त प्रदेश सभाका लागि उम्मेदवारी टाउको दुखाइ बनेको छ। प्रदेश सभा ‘क’ मा बलदेव रेग्मी दोहोर्याउने निर्णय गर्यो। तर, माओवादी केन्द्रबाट एमालेमा बसेका सहदेव बोगटी र एमालेकै नेता रंगमान शाहीले चित्त बुझाउन सकेनन् र स्वतन्त्र उम्मेदवारी दिएका छन्। दुवैतर्फबाट बिद्रोह भएका कारण यो क्षेत्रले प्रतिनिधि सभाको हिसाब समेत गडबड गर्नेछ।
गत निर्वाचनमा प्रतिनिधि सभा जितेका लालबहादुर थापालाई यसपल्ट एमालेले प्रदेश सभा ‘ख’ मा टिकट दिएको छ। सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा उनलाई प्रदेशतर्फ पठाएको एमाले नेताहरु बताउँछन्।
नेपाली कांग्रेसबाट भने पदमबहादुर शाहीले टिकट पाएका छन्। यसैगरी राप्रपाबाट हिमालबहादुर शाही र स्वतन्त्रबाट जनक बहादुर रावलले समेत उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।