काठमाडौं– जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पूर्जी जारी भएका एक आरोपितले वारेसमार्फत् प्रदेश सभाको उम्मेदवारी दर्ता गराएका छन्।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बन्दै युद्ध विक्रम तामाङ (डिवी लामा) ले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्।
ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट उनीविरुद्ध केही महिनाअघि पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी हुँदा पनि फरार रहेका उनी उम्मेदवारी दर्ता गर्न आउने हल्लापछि प्रहरी पक्राउ गर्ने तयारीका साथ पुगेको थियो।
प्रहरीले पक्राउ गर्ने जानकारी पाएपछि उनी उम्मेदवारी दर्ता गर्न आएनन्। उनले आफ्नो उम्मेदवारी अधिवक्ता एवं एक जनप्रतिनिधिमार्फत् वारेस राखेर दर्ता गराए।
अधिवक्ता शशिनाथ आचार्यमार्फत् वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य इन्द्रावती गाउँपालिका ६ का वडाध्यक्ष हुन्। उनीविरुद्ध रोजिन बस्नेतसहित ६ जनाले जेठ २ गते ईलाका प्रहरी कार्यालय, बाह्रबिसेमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।
प्रहरीले अनुसन्धानपछि उनीविरुद्ध कर्तव्य ज्यानको उद्योगमा मुद्दा दायर गरेको थियो। असार ९ गते जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्दा दायर भएको थियो। एमाले नेताहरुले भने उनी सोमबार अदालत उपस्थित भएर न्यायिक प्रक्रियाको सम्मान गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।