काठमाडौं– पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेलगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन्।
पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आइतबार काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा उम्मेदवारी दर्ता गरिन्।
उम्मेदवारी दर्ता गरेलगत्तै उनी बेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर –६ मूलपानीमा पुगेकी थिइन्। मूलपानी पुगेर घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा–आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरेकी छन्।
पोखरेललाई राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन्। पोखरेलको अवस्था अझै पत्ता लागेको छैन।
घर्तीले अबको राजनीतिक जीवन काठमाडौं २ मा समर्पण गर्ने र यस क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन्। बेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा–छोरी सम्झिन आग्रह गर्दै बेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताइन्।
माओवादी जनयुद्धमा प्रत्यक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामासमेत सहिद तथा बेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्यक्ष रुपमा अनुभव गरेको सुनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।