काठमाडौं– मधेश प्रदेशमा एमाले नेतृत्वको गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ। अधिकांश जिल्लामा एमाले र जनता समाजवादी पार्टीविरुद्ध बागी उम्मेदवारी परेको छ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनले एमालेबाट पाएको टिकटसमेत बहिस्कार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
साहले नेपाललाईभसँग कुरा गर्दै एमालेले जसपासँग गरेको तालमेलविरुद्धमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए। ‘मैलै आफनो पार्टी एमाले नेतृत्वलाई यसबारे पटक–पटक सचेत गराएँ पनि। तर, त्यसको सुनवाइ नै नभएपछि म यो कदम चाल्न बाध्य भएँ।’
साह आफूले स्वतन्त्र उम्मेदवारी दिनुका साथै मधेश प्रदेशमा एमालेसँग तालमेल गरेर जसपाले दिएको सबै उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरेका छन्। एमालेसँगको तालमेलमा जसपाले मधेश प्रदेशमा १६ प्रतिनिधि सभा र ४२ प्रदेश सभामा उम्मेदवारी दिएको छ।
साह कै निर्वाचन क्षेत्र रौतहट ३ मा एउटा प्रदेश सभा जसपाले पाएको छ। साहले त्यसको सुरुदेखि नै विरोध गर्दै आएको र उक्त तालमेल नमान्ने चेतावनी दिँदै आएका थिए।
रौतहट क्षेत्र नम्बर ३ मा राम्रो प्रभाव रहेका साहकी पत्नी रिना साह त्यही क्षेत्रको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालका मेयरमा निर्वाचित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।