बुटवल– रुपन्देही–१ मा नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल र वर्तमान सचिव छबिलाल विश्वकर्माबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
शनिबार एमाले परित्याग गरेका भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। भुसाललाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ। यस्तै, एमाले सचिव विश्वकर्मालाई राप्रपा र जसपाको समर्थन छ।
एमालेभित्रको आन्तरिक लोकतन्त्र सुधार गर्ने भन्दै माधवकुमार नेपालसँग विद्रोहमा सहभागी नभएका भुसालले नेतृत्वले पूर्णरुपमा निषेध गरिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छ्न। भुसालले रुपन्देही–१ आफ्नो गृहक्षेत्र भएको र यस क्षेत्रमा आफूले पार्टी संगठन बिस्तारको क्रममा धेरै काम गरेका कारण जित सुनिश्चित रहेको दाबी गरेका छन्।
एमाले सचिव विश्वकर्माले आफूले २०७४ को निर्वाचनमा जितेपछि धेरै काम गरिसकेको र कतिपय काम गर्न बाँकी रहेकोले आफ्नो उम्मेदवारी रहेको बताए। विश्वकर्माले नेकपा एमालेको जित रुपन्देहीमा पक्कापक्की रहेको दाबी गरे।
रुपन्देही–१ मा गठबन्धनबाट माओवादी केन्द्रलाई भाग परेको थियो। भुसाल उम्मेदवार हुने भएपछि माओवादीले उम्मेदवार उठाएन। प्रदेशसभामा (क)मा कांग्रेसका विश्वनाथ यादव र (ख)मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, नेकपा एमाले-राप्रपा-जसपा गठबन्धन बाट प्रदेशसभा (क) मा राप्रपा बाट आशिष चौधरी र (ख) मा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।
यस क्षेत्रमा प्रतिनिधि सभातर्फ कूल २१, प्रदेश सभा ‘क’मा ७ प्रदेश सभा ‘ख’मा १३ जनाको उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।