काठमाडौं- अगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी न्यून देखिएको छ। नेकपा एमालेबाट ७, नेपाली कांग्रेसबाट ५ र माओवादीबाट ६ जना महिला मात्रै उम्मेदवार बनेका छन्।
२०७४ को निर्वाचनपछि पहिलो दल बनेको नेकपा एमालेले सबैभन्दा बढी ७ जना महिला उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ।
एमालेबाट सुनसरी- ३ मा भगवती चौधरी, दाङ- १ मा शान्ता चौधरी र दाङ- ३ मा कोमल वली, स्याङ्जा- २ मा पद्मा अर्याल, कास्की- २ मा विद्या भट्टराई, डोटीमा गौरी ओली र कञ्चनपुर- ३ मा निरूदेवी पाल प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, धनुषा- ३ बाट जुलीकुमारी महतो प्रतिस्पर्धा गर्दैछिन्। उनी एमाले र जसपाको साझा उम्मेदवार हुन्।
पूर्वमन्त्री अर्याल २०७४ को प्रतिनिधिस भा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद पनि हुन्। विद्या उपनिर्वाचनबाट निर्वाचित सांसद हुन्। शान्ता २०६४ र २०७४ मा समानुपातिक सांसद थिइन्। निरुदेवी यसअघि समानुपातिक सांसद थिइन्। वली राष्ट्रिय सभा सदस्य भइसकेकी छन्। भगवतीले यसअघि पनि टिकट पाएकी थिइन् तर जित निकाल्न सकिनन् भने गौरी पहिलो पटक उम्मेदवार बनेकी छिन्।
नेपाली कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ, मोरङ-२ मा सुजाता कोइराला, सिरहा-२ मा चित्रलेखा यादव, मकवानपुर- १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, अर्घाखाँचीमा पुष्पा भुसाल उम्मेदावर रहेका छन्।
कोइराला २०७० र २०७४ मा समानुपातिक सांसद थिइन्। भुसाल २०६४ मा प्रत्यक्ष र २०७४ मा समानुपातिक सांसद भएर उपसभामुख समेत बनेकी छिन्। चित्रलेखा २०५६ मा निर्वाचित र २०७०, २०७४ मा समानुपातिक सांसद थिइन्। महालक्ष्मी २०४८ सालदेखि निर्वाचन लड्दै आएकी छन्। सीता यसअघि राज्यमन्त्रीसम्म भइसकेकी छिन्।
माओवादी केन्द्रबाट ललितपुर- ३ मा पम्फा भुसाल, काठमाडौं- ९ मा कल्पना धमला, दाङ- ३ मा रेखा शर्मा, काठमाडौं- २ मा ओनसरी घर्ती, जुम्लामा गोमा गौतम, कञ्चनपुर- ३ मा विना मगर र काठमाडौं- ७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन्।
पम्फा ललितपुर ३ बाटै २०६४ र २०७४ मा निर्वाचित सांसद हुन्। उनी पटक-पटक मन्त्री भइसकेकी छन्। कल्पना २०६४ मा धादिङबाट निर्वाचित भएकी थिइन्। रेखा २०७० र २०७४ मा समानुपातिक सांसद थिइन्।
पूर्व सभामुखसमेत रहेकी ओनसरी २०६४ मा समानुपातिक, २०७० मा रोल्पा-२ बाट प्रत्यक्ष निर्वाचित र २०७४ मा समानुपातिक सांसद भइसकेकी छन्। गोमा र मानुषी भने पहिलो पटक मैदानमा उत्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।