काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा पस्तै गर्दा विजय र्यालीमा आएको जस्तो लागेको बताएका छन्।
आइतबार गोरखा-२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएपछि आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले जनतामा उत्साह र ऊर्जा देखेको बताए।
‘यहाँ पस्तै गर्दा जनता र कार्यकर्ता जुन उत्साह र ऊर्जा मैले देखेँ। म निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आएको जस्तो लागेन, मलाई जितिसकेको विजय र्यालीमा आएको जस्तो लाग्यो। मलाई बडो अनौठो अनुभूति भयो। त्यस्तो उत्साह र ऊर्जा मैले देखेँ’, प्रचण्डले भने।
सम्बोधनका क्रममा प्रचण्डले चितवनबासीप्रति आभार व्यक्त गरे। ‘त्यहाँका नेता तथा राजनीतिक कार्यकर्ता र आम जनताप्रति आभार व्यक्त गर्न चाहन्छु। मैले उहाँहरुलाई बिर्सेर वा कुनै किसिमले मिनिमाइज गर्न यहाँ आएको होइन। म यहाँ आए पनि चितवन र देशभरका जनतासँग छु’, उनले भने।
प्रचण्डले गोरखाका सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले आफूलाई गोरखा आउनुपर्यो भनेको बताए। ‘इतिहासको त्यो आवश्यकतालाई सम्झेर यहाँ आएको छु। पार्टीका साथीहरुको, राजनीतिक दलहरुको, गठबन्धन र बाहिरका दलहरुका नेता तथा कार्यकर्ताहरु भित्रबाट खुसी भएको सन्देश मलाई दिने गर्नुभएको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।