काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्।
तनहुँको दमौलीमा मनोनयन दर्ता गराउनु अगाडि आयोजित सभालाई छोटो सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने अभियान भएको बताए।
उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन, प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो।’
पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लागेको बताउदै भ्रष्टचार, विकृति र विसंगतिलाई हटाएर आम नागरिकमा आशाको सञ्चार दिन आफूहरुले चाहेको दाबी गरे।
पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन? भन्ने प्रश्नको उत्तर आफूहरुले खोजिरहेको बताए।
उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार हो। म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु।’ पौडेलले गाउँमा सबै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।