काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभाको निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो क्षेत्रको उम्मेदवार बनाउन पाउँदा आफू अत्यन्त खुशी रहेको बताएका छन्।
गोरखा २ बाट यस अघिका तीनवटा निर्वाचनमा बाबुराम भट्टराई निर्वाचित भएका थिए। आउँदो निर्वाचनमा उक्त क्षेत्र प्रचण्डका लागि छोडेको दाबी भट्टराईले संचारकर्मीसामु गरे। प्रचण्डको उम्मेदवारी दर्तापछि उनले उक्त प्रतिक्रिया दिएका थिए।
‘म अत्यन्तै हर्षित र गौरावान्वित छु। तीन पटकसम्म गोरखाली जनताले अत्यन्तै धेरै मतले विजयी गराएर पठाउनु भयो र उहाँहरुको सेवा गर्न पाएँ। मान्छेले जिवन पर्यन्त एउटै कुर्सीमा बस्ने परम्परालाई तोड्नु थियो। म एउटा अवसर पर्खेर बसेको थिएँ। गोरखामा जे जस्तो भए पनि छोटो समयमा हाम्रै पालामा गत दशकमा विकासका ढोकाहरु खुलेका छन्’, उनले भने।
आगामी दिनमा यसकै जगमा टेकेर समृद्धिको महल बनाउने दायित्व रहेको उनले बताए। उनले समृद्धिको महल कसरी अघि बढाउने भन्ने लागिरहेका बेला प्रचण्डको आगमनले सुखद अनुभूति दिलाएको बताए।
‘अब आगामी दिनमा यो जगमा टेकेर समृद्धिको महल बनाउनु छ। त्यसलाई कसरी अघि बढाउने भन्ने लाग्य थियो। यहि बेला अत्यन्त सुखद संयोग कमरेड प्रचण्ड यो क्षेत्रमा आउनु भएको छ,’ भट्टराईले भने, ‘उहाँको जुन मौलिक क्षमता छन् त्यसलाई मैले नजिकबाट हेर्ने मौका पाएको छु। उहाँ जस्तो व्यक्तित्वलाई मैले प्रतिस्पर्धा गर्नलाई आफ्नो क्षेत्र छोड्न पाउँदा अत्यन्तै खुशी छु। यो कुनै नाप्ने यन्त्र भए झन गजब हुन्थ्यो। त्यस्तो आविस्कार त छैन। म अन्तर मनबाट के भन्छु भने गोरखाले अब साँच्चै नै इतिहास निर्माण गर्ने अवसर प्राप्त गरेको छ। म अत्यन्तै खुशी छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।