काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा आफू पहिलो व्यक्ति रहेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गोरखा २ पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै उक्त दाबी गरेका हुन्।
‘मैले निर्वाचन लड्दा पहिला रोल्पाबाट, काठमाडौंबाट, त्यसपछि सिराहाबाट र मेरो गृह जिल्ला चितवनबाट निर्वाचन लडेको छु। देशको पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लाग्छ,’ प्रचण्डले भने, ‘अहिले गोरखा आएपछि एउटा रेर्कड बन्यो भन्ने लाग्छ।’
त्यस्तै, जनयुद्धको तयारीमा सैनिक तालिम लिएको जिल्ला र आफ्ना सहयोद्धाहरुको गृह जिल्ला भएकाले गोरखा आफूलाई नयाँ नभएको उनको भनाइ छ।
‘जनयुद्धको पहिलो सैनिक तालिम पनि यहि क्षेत्रमा सुरु गरेका थियौं। बाबुराम भट्टराई चुनाव जितेर अर्थमन्त्री भएको जिल्ला यहि हो। पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर पनि यहिँ छ। त्यसकारण हरेक दृष्टिकोणले गोरखा जिल्ला मेरो लागि एतिहासिक जिल्ला हो,’ उनले दाबी गरे, ‘आफ्नै परिचित ठाउँमा, परिचत जनताको बीचमा र साथीहरुको बीचमा म आएको महसुस गरेको छु। गोरखाली जनताको बीचमा निर्वाचनमा सहभागी हुन पाउँदा गर्व पनि महसुस भएको छ।’
प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।