काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यो देशमा भ्रष्टाचार गर्दिनँ भनेर आमाको नाममा कसम खानेलाई काठमाडौं–१ बाट मात्रै नभई देशभरीबाट जिताउन आग्रह गरेका छन्।
आइतबार काठमाडौं–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउँदै मिश्रले मतदाताले आफूलाई जिताउनेमा विश्वास व्यक्त गरे। उनले गएको निर्वाचनमा झिनो मतले पराजित भएको स्मरण गर्दै सिंगो विकृत राजनीतिलाई सुधार्नका लागि आएको दाबी गरे।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चिन्ह लिएर होमिएका छौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले यो देशको शान्ति, स्थिरता, स्वाधिनता र सार्वभौमसत्ताका लागि जुन अजेण्डा बोकेको छ। त्यो अजेण्डा स्थापित नहुने हो भने आउँदो धेरै वर्षसम्म पनि यो देश घर्षिरहने छ।’
मिश्रले कुनै पनि बेला विश्वको भूराजनीति बदिलिएको बताउँदै नेपालभित्रको जातिय र धार्मिक असन्तुलन आइराखेको बताए। उनले आफूले आजभन्दा ३० वर्ष पछाडीको राजनीतिलाई हेरेर राजनीति गरेको दाबी गरे।
मिश्रले काठमाडौंका मेयरसँग मिलेर समेत काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।