काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु आफ्ना निम्ति खुसीको कुरा भएको बताएका छन्।
मकवानपुर- १ का लागि उम्मेदवारी दर्ता गराएपछि उनले भने- 'राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर सक्रिय रहेको पार्टी नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु मेरा निमित्त खुसीको कुरा हो। र साथसाथै चुनावमा विजयलाई सुनिश्चत गर्नका निमित्त मैले नेकपा एमालेकै चुनाव चिह्न सूर्यबाट प्रतिस्पर्धा गर्दैछु।'
उनले आफूहरुको सहकार्य केवल एक ठाउँमा चुनाव जित्नका निमित्त मात्रै नभई मुलुकको सामुन्ने विद्यमान संकट समाधानका निमित्त राष्ट्रिय परिवेशको एउटा आवश्यकताको रुपमा रहेको बताए।
थापाले एमाले पनि चुनावी अभियानमा एकताबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे। 'नेकपा एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु भन्ने मलाई लाग्छ। त्यसका निमित्त म हरसम्भव प्रयास गर्नेछु', उनले भने।
थापाले निर्वाचनपछि पनि नेकपा एमालेसँगको सहकार्य निरन्तर रुपमा जारी रहने बताए। भने, 'राष्ट्रिय हितको सवालमा हामी एक ठाउँमा उभिनेछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।