काठमाडौं– नेकपा एमाले र जसपा नेपालबीच भएको तालमेलमा भाँडभैलो देखिएको छ। धनुषा, मोरङसहितका केही जिल्लामा सहमतिविपरीत दुवै पार्टीले उम्मेदवारी दर्ता गराउन लागेका छन्।
धनुषा–४ मा एमालेका रघुविर महासेठविरुद्ध जसपाका महाजन यादवले उम्मेदवारी दर्ता गराउन लागेका छन्। जसपाले धनुषा–४ मा प्रदेशतर्फ एमालेले सहमतिविपरीत उम्मेदवारी दर्ता गराएपछि आफूहरु पनि प्रतिनिधि सभामा उम्मेदवारी दिन लागेको बताएको छ।
त्यस्तै, मोरङ–४ ‘ख’ मा पनि विवाद देखिको छ। एमाले र जसपाका दुवै उम्मेदवार मनोनयन दर्ता गराउन पुगेका छन्।
उक्त क्षेत्रमा दुई दलको सहमति अनुसार जसपाको भागमा परेको थियो। जसपाले उक्त क्षेत्रमा सञ्जय सिंहलाई टिकट दिएको थियो। तर, एमालेले अन्तिम समयमा जीवन घिमिरेलाई उम्मेदवारी दर्ता गर्न पठाएपछि विवाद भएको हो।
यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सिंहले आधिकारिक उम्मेदवार आफू भएकोले मनोनय दर्ता गर्ने दाबी गरे। उनले आफू उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेको र दर्ता गर्ने बताए।
घिमिरे पनि उम्मेदवारी दर्तका लागि निर्वाचन कार्यालय पुगेको तर, दर्ता गर्ने/नगर्नेबारे छलफल गरिरहेको उनले बताए।
यस्तै, एमाले नेता प्रभु साहले पनि आफ्नो क्षेत्रमा प्रदेशतर्फ जसपाको भागमा परेको क्षेत्रमा एमालेकै उम्मेदवार उठाउने तयारी गरेका छन्। साहले जसपाले एमालेसँग तालमेल गरेको हरेक क्षेत्रमा एमालेका नेताहरुलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराउने गृहकार्य गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।