काठमाडौं- दाङ- १ मा नेकपा एमालेले शान्ता चौधरीको उम्मेदवारी 'होल्ड' गरेको छ। नेपाली कांग्रेसबाट टिकट नपाएका डा गोविन्दराज पोखरेलले बीपी कांग्रेसबाट चुनाव लड्ने तयारी गरेपछि चौधरीलाई होल्ड गरिएको हो।
उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेकी चौधरीलाई पार्टी महासचिव शंकर पोखरेलले केहीबेर कुर्न भनेको चौधरीले जानकारी दिइन्। उनले भनिन्, 'हामी उम्मेदवारी दर्ता गर्न आइसकेका थियौं। केही समय रोकिन भन्नुभयो। अहिले फेरि दर्ता गराउनु भन्नुभएको छ।'
कांग्रेसबाट डा पोखरेलले प्युठानमा चुनाव लड्ने तयारी गरेपनि उक्त क्षेत्र सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चाको भागमा परेको छ। त्यसपछि निर्वाचन क्षेत्र बिहीन बनेका डा पोखरेलले बीपी कांग्रेसबाट चुनाव लड्नेबारे छलफल थालेका थिए।
एमालेसँगको संवादमा उनी प्युठानमा सूर्य थापालाई सघाउने गरी दाङ- १ मा झर्ने कुरा भएको बुझिएको छ। तर अझै छलफल भने जारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।