काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई कांग्रेसले प्रतिनिधि सभामा टिकट दिएन। उनको ठाउँमा, मोरङ–३ बाट कांग्रेसले सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ।
टिकट नपाएपछि उनी स्वतन्त्र उठ्न सक्छन् भने आकलन गरिएको थियो। तर, उनले आफू बागी नउठ्ने बताए।
‘आन्तरिक लोकतन्त्रका लागि लडेकै कारण टिकटबाट बञ्चित भएँ। अरु त्यस्तो कारण म देख्दिँन। तर, न म पार्टीलाई अहित गर्ने मान्छे हो। न अयोग्य मान्छे हो। न भोलि टिकट दियो भने मन्त्री नभई नहुने मान्छे हो’, रिजालले नेपाल लाइभसँग भने, ‘बागी उठ्नुपर्ने मलाई कुनै जरुरत नै छैन। म नेपाली कांग्रेस पार्टीको मान्छे हुँ। लामो समयदेखि नेपाली कांग्रेसमा छु। त्यसैले मैले झन् बढी संकल्पित भएर, दृढ निश्चयका साथ पार्टीलाई अघि बढाउन लाग्छु।’
उनले माथिल्लो तहमा मात्र खराब भएको बताउँदै कांग्रेस भित्र आम असल साथीहरु रहेको जिकिर गरे। उनले कांग्रेसजस्तो राम्रो पार्टी फेला नपर्ने पनि बताए। आन्तरिक लोकतन्त्र बलियो बनाउने, देशको भविष्यका लागि नेतृत्व प्रदान गर्ने सक्ने पार्टी निर्माण गर्नका लागि झन् बढी जाँगर प्राप्त भएको रिजालले बताए।
रिजाल कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट महामन्त्रीमा पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।