डडेलधुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदैछन्।
उनले प्रतिनिधि सभा सदस्यका लागि सातौँपटक उम्मेदवारी दर्ता गराउन लागेका हुन्। प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देउवाले यसअघिजस्तै यसपटक पनि डडेलधुराबाट नै उम्मेदवारी दिँदै छन्।
प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आइतबार दिउँसो २ बजे मनोनयन दर्ता गराउने कांग्रेस डडेलधुराले जनाएको छ। उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेलधुरा पुगिसकेकी छन्।
देउवा डडेल्धुराबाट २०४८ मा पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनी त्यसयताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन्।
उनी प्रतिनिधि सभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेलधुराबाट नै छैटौँपटक निर्वाचित भएका थिए। २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेलधुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी आरजुले बताइन्।
यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए।
२०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका उनी २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा प्रधानमन्त्री बनेका थिए।
त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।