काठमाडौं– निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्न सुरु गरेका छन्।
७७ जिल्लाका १ सय ६५ ओटा निर्वाचन क्षेत्रमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता गरिने आयोगले जनाएको छ।
आयोगले बिहान १० बजेदेखि ५ बजेसम्ममा उम्मेदवारहरुले मनोनयन दर्ता गराउन सक्ने जनाएको छ। आयोगले उम्मेदवारी मनोनयन दर्ता समय सुरु गरे पनि प्रमुख दलहरु भने अझैं उम्मेदवार छान्नमै व्यस्त छन्।
दलहरुभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। अन्तिम समयमा आएर कतिपय नेताहरु दल परिवर्तन गर्दै अन्य दलबाटसमेत उम्मेदवारी दिँदैछन्।
उम्मेदवार छनोट भइसकेका नेताहरु भने आ–आफनो क्षेत्र पुग्ने क्रमजारी छ। दलहरुले टिकट वितरणमा गरेको ढिलाईका कारण कतिपय क्षेत्रहरुमा वारेसमार्फत् पनि उम्मेदवारी मनोनयन दर्ता हुन लागेको छ। आयोगले उम्मेदवार आफैं उपस्थित नभएको खण्डमा वारेसमार्फत् मनोनयन दर्ताको व्यवस्था गरेको छ।
४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा ७६ दलले दल दर्ता गराएका छन् भने ६८ दलले चुनाव चिह्न पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।