काठमाडौं- घनश्याम भुसाललाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रिय भूमिका निर्वाह गरेका छन्।
सुरुमा माओवादी केन्द्रकै चुनाव चिह्नबाट लड्न आग्रह गरेका उनले स्वतन्त्र उम्मेदवारका रुपमा समर्थन गर्नसमेत सत्ता गठबन्धनको सहमति जुटाइदिएका हुन्।
आइतबार भुसालले सत्ता गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गर्दै राति साढे १२ बजे प्रचण्डले फोन गरेर पक्का गरेको बताए।
उनले भने, ‘राति साढे १२ बजे प्रचण्डजीले फोन गरेर हाम्रो समर्थन हुने बताउनुभयो। उहाँले भन्नुभयो- मैले प्रधानमन्त्री (शेरबहादुर देउवा) र माधव कमरेड (माधव नेपाल)सँग कुरा गरिसकेF। हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन। सम्पूर्ण शक्ति तपाईंका पछि हुन्छ। तपाईं लाग्नुहोस्।’
सुरुमा प्रचण्डले माओवादी केन्द्रकै चुनाव चिह्नबाट उठ्नसमेत प्रस्ताव गरेको उनले बताए। तर, आफू वाम एकताको पक्षमा रहेकै कारण एमालेबाट दण्डित भएकाले स्वतन्त्र नै रहेको थप प्रयत्न गर्ने जानकारी दिएको बताए।
उनले भने, ‘मैले बाम एकताको झन्डा बोकेका कारण दण्डित भएको हुँ। फेरि पनि यही झन्डा बोक्न चाहन्छु। कुनै दलको चुनाव चिह्नमा लडेर यसलाई कमजोर हुन नदिउँ। मलाई स्वतन्त्र हुन दिनुहोस् भनेँ।’
गठबन्धनको सिट बाँडफाँटमा रुपन्देही क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेको थियो। घनश्यामलाई सघाउने भएपछि माओवादीले उक्त क्षेत्रमा उम्मेदवारी नदिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।