काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश निर्वाचनको तयारीको सिलसिला दोस्रो चरणमा प्रवेश गर्न लागेको बताएको छ।
आइतबार पहिलो हुने निर्वाचनको उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रमसँगै दोस्रो चरण प्रारम्भ हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
कान्तिपथस्थित निर्वाचन आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमा थपलियाले निर्वाचन कार्यक्रम दोस्रो चरणमा प्रवेश गरेसँगै केही विषयमा सबै मिलेर हेर्नु पर्ने बताए। उनले भने,‘ दोसो चरण अलि बढी संवेदनशील छ। यो अवस्थामा केही कुरा तपाईंहरु सबै मिलेर हेर्नु पर्नेछ।’
थपलियाले लक्षित गरेको विषय हो, निर्वाचन आचारसंहिता र खर्चको सीमाको पालना। ‘निर्वाचन आचारसंहिता र खर्चको सीमाको पालना हामी पनि हेर्छौँ। तपाईंहरुले पनि सुक्ष्म ढङ्गले हेरिदिनु होला’, थपलियाले भने।
थपलियाले लोकतन्त्र र आवद्यिक निर्वाचनको लक्ष्य पूरा हुन पनि निर्वाचनको वातावरण राम्रो बनाउनुपर्ने बताए। त्यस्तै, आचारसंहितामा कार्यान्वयनको अनुगमन गर्ने अधिकारी पनि आयोगले फेरेको आयुक्त थपलियाले बताए।
यस्तै, प्रधानमन्त्री, मन्त्री, तथा प्रदेशका मन्त्री लगायत स्थानीय कार्यपालिका पदाधिकारीलाई यसअघि उम्मेदवार भए आफ्नो क्षेत्र बाहेक अन्यत्र जान नदिने कानुनलाई खारेज गरेको पनि आयोगले बताएको छ।
‘यसअघिका निर्वाचनमा उक्त व्यक्तिहरुले निर्वाचन प्रचारका लागि जान पाउने व्यवस्था थियो। त्यसका लागि आयोगको अनुमति लिएर जान पाउने व्यवस्था थियो। तर, अब भने प्रधानमन्त्री, संघ तथा प्रदेशमा मन्त्रीले आयोगको परामर्शमा र स्थानीय कार्यपालिकाका पदाधिकारीले अर्को पालिकामा जाँदा कार्यकर्ताका रुपमा जान पाउने व्यवस्था गरेका छौं,’ थपलियाले भने,‘तर, सरकारी सम्पत्तिको प्रयोग भने गर्न नपाउने स्पष्ट पारेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।