काठमाडौं- संसदीय प्रतिस्पर्धामा भाग नलिने घोषणा गरिसकेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अध्यक्ष केपी शर्मा ओलीले थप एकपटक उम्मेदवार बन्न सुझाएका छन्। शनिबार भएको संवादमा ओलीले आफूलाई ‘एकचोटी उठ्नुस् न, के बिग्रिन्छ र?’ भनेको शाक्यले नेपाल लाइभलाई बताइन्।
‘उहाँ आफैंले फोन गर्नुभयो। किन यसो (उम्मेदवार नबन्ने निर्णय) गर्नुभएको भन्नुभयो। एकचोटी उठ्नुस् न, के बिग्रिन्छ र? भन्नुभयो’, शाक्यले ओलीसँगको संवाद उल्लेख गर्दै भनिन्, ‘बिग्रिने कुरा होइन। मेरो अडान हो। मेरो निर्णय हो। म संसदीय राजनीतिमा जान्नँ। मेरो विकल्प सोच्नुस्। मलाई पुग्यो भनेर भनेको छु।’
शाक्यले आफूले सचिवालय बैठकमा पनि आफू संसदीय राजनीतिमा अब नरहने स्पष्ट पारिसकेको बताइन्। ‘एउटै मान्छे कतिपटक प्रतिस्पर्धा गर्ने? अब मलाई पुग्यो। अब मलाई धेरै कर नगर्नुस्। अब म ब्याक हुने हो। पार्टीको राजनीति गर्ने हो। संसदीय राजनीतिबाट ब्याक हुने भनेर मैले अस्ति पनि भनेको हो। मान्नुभएन। मान्नै भएन। तपाईं हुनैपर्छ। अब एकपटक हुनै पर्छ भनिरहनुभयो’, उनले भनिन्।
एमालेले शाक्यलाई काठमाडौं- ८ बाट उम्मेदवार बनाउने तय गरेको थियो। तर, शाक्यले भने पहिल्यैदेखि आफू संसदीय प्रतिस्पर्धामा नलाग्ने घोषणा गरिसकेकी थिइन्।
आफूले ओलीलाई पार्टीभित्र सबैलाई समेट्न मन फराकिलो बनाउन सुझाव दिएको पनि उनले बताइन्। ‘भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई अलग नराख्नुस्। बोलाएर कुरा गर्नुस्। तपाईंले सबैलाई समेट्नुस्। मन फराकिलो बनाउनुस्। अनि पो पार्टी बन्छ त भनेर सम्झाएको हो मैले त’, उनले भनिन्।
बदलाको भावना राख्ने राजनीतिले देश उँभो नलाग्ने उनको बुझाइ छ।
शनिबार पार्टी परित्याग गरेका भुसालप्रति शाक्यले असन्तुष्टि व्यक्त गरिन्। ‘घनश्याम भुसालले पार्टी छाड्नु हुँदैनथ्यो। किनभने हामी कम्युनिस्ट आन्दोलनमा लागिरहँदा धेरै पीडा सहन पर्छ। अपमान पनि सहनुपर्छ। त्यसो भएको हुनाले टिकट पाएन भनेर पार्टी छोडेको कुरा उचित लागेन। त्यसो नगरेको भए हुन्थ्यो। त्यसो गर्न हुँदैनथ्यो’, उनले भनिन्, ‘यो पाँचै वर्ष सबैथोक होइन। उतारचढाव आउँछ। कहिले सम्मान र कहिले अपमान सहनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।