काठमाडौं- नेकपा एमालेले टिकटबाट बञ्चित गरेका घनश्याम भुसालले रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। उक्त क्षेत्रका एमाले, एकीकृत समाजवादी, माओवादी र कांग्रेसका नेताहरुले नै भुसाललाई उक्त प्रस्ताव गरेको बुझिएको छ।
स्वतन्त्र उठ्ने तयारीपछि भुसालले एमाले त्यागेका छन्। शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् उनले एमाले त्यागेर स्वतन्त्र भएको जानकारी दिएका हुन्।
‘पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, उनले एमाले त्याग्दै भनेका छन्।
भुसालनिकट एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडामै चुनाव लड्न प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ। त्यसकारण आफ्नो पार्टीको चुनाव चिह्नबाट चुनाव लड्न भनेका हुन्।
तर, भुसाल अहिले आफूनिकट र स्थानीय नेता-कार्यकर्तासँग यस विषयमा छलफल गरिरहेका छन्। गठबन्धनका दलका साथै एमालेकै एउटा समूहबाट समेत भुसालले सघाउने आश्वासन पाएका छन्।
एमालेले उक्त क्षेत्रमा सचिव छविलाल विश्वकर्मालाई टिकट दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।