काठमाडौं- चितवन- ३ बाट प्रतिनिधि सभा जितेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त क्षेत्र छाडेका छन्। उनी गोरखा-२ मा पुगेपनि गठबन्धनले उक्त क्षेत्र माओवादी केन्द्रकै भागमा पारेको छ।
स्थानीय तहको निर्वाचनदेखि नै कांग्रेसका स्थानीय नेता-कार्यकर्ताको विरोध रहेपनि उक्त क्षेत्रबाट माओवादी केन्द्रकै नेताले उम्मेदवारी दिने पक्का भएको छ।
प्रचण्डले छाडेको उक्त क्षेत्रबाट कसले टिकट पाउँछ? माओवादीले उम्मेदवार टुंग्याउने बाँकी रहेका कारण अझै तय भएको छैन। प्रचण्ड सर्वसम्मत सिफारिस भएका कारण अन्य नेताहरुको नाम चर्चामा छैन।
चितवनका माओवादी केन्द्रका नेताहरुका अनुसार उक्त क्षेत्रबाट माओवादीको केन्द्रीय सदस्य घनश्याम दाहाल, जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी (आरसी ) र सूर्य सुवेदी ‘पथिक’को दाबी हुनेछ।
तीनैजनाले उम्मेदवार बन्ने आकांक्षा पार्टी नेतृत्वसमक्ष दर्शाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।