काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ छोडेर गोरखा-२ मा उम्मेदवारी दिने भएका छन्।
शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले उनलाई गोरखाबाट उठाउने निर्णय गरेको माओवादीका एक नेताले बताए।
प्रचण्डले चितवन-३ बाट उम्मेदवार हुने भन्दै केही समयदेखि तयारी पनि गरेका थिए। उनले चितवनमा घर समेत बनाएका थिए। तर गोरखाबाट निर्वाचन लड्न सुझाव आएपछि उनी उक्त क्षेत्रमा सरेका हुन्।
गोरखा-२ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचित भएको क्षेत्र हो। २०७४ सालको निर्वाचनमा भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।
यस पटक भट्टराईले आफू प्रतिनिधि सभामा उम्मेदवार नहुने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।