काठमाडौं- नेकपा एमाले र राप्रपाबीच भएको सहमतिले घनश्याम भुसालको टिकट खोसिएको छ। रुपन्देही १ र ३ बाट सिफारिस भएका भुसालको स्थानमा एमालेले राप्रपाका दिपक बोहोरालाई सर्मथन गर्ने भएको छ।
रुपन्देही ३ मा चिर प्रतिद्वन्द्वी बोहोरा र भुसालको अब प्रतिस्पर्धा नहुने भएको छ। २०७४ सालको निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए।
तर, एमाले अध्यक्ष ओलीले भुसालको सिफारिसलाई खासै मन पराएका छैनन्। त्यसैले भुसालको क्षेत्र राप्रपालाई दिने सहमति भएको राप्रपाका एक नेताले बताए। त्यहाँ बोहोरा एमाले-राप्रपाको गठबन्धनबाट उम्मेदवार हुनेछन्। जसपाले पनि सहयोग गर्ने राप्रपाका नेताले बताए।
राप्रपा नेता बोहोरा पञ्चायतकालदेखिका सदाबहार उम्मेदवार हुन्। २०७० को संविधानसभा निर्वाचनमा उनी विजयी भएका थिए।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार भएका बोहोरा थोरै मतले पराजित भएका थिए। एमालेका भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए।
२०७० मा भने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले भुसाललाई ८६ मतले पराजित गरेका थिए। यस क्षेत्रबाट २०६४ सालमा पनि खाँण नै विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।