काठमाडौं- सिन्धुपाल्चोकमा शेरबहादुर तामाङ उम्मेदवार बन्ने पक्का भएको छ। उनले प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ मा एमालेबाट चौथो पटक टिकट पाएका हुन्।
यसअघि २०६४, २०७०, २०७४ मा उनले प्रत्यक्षतर्फ टिकट पाएका थिए। उनले २०७० र २०७४ मा जित हात पार्दै सांसद भएका थिए। यो पटक जित हात पारे उनको ह्याट्रिक हुनेछ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सरेश नेपालले टिकट पाएका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा अन्तर्गत 'क' मा कमल नेपाल र 'ख' मा होमनारायण श्रेष्ठको नाम तय भएको छ। श्रेष्ठ जुगल गाउँपालिका अध्यक्ष हुन् भने गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष पनि हुन्।
प्रतिनिधि सभाको क्षेत्र नम्बर २ को प्रदेश तर्फ ‘क’ मा अमानसिंह तामाङ र ‘ख’ मा हस्त पण्डितले टिकट पाएका छन्। तामाङ माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्।
चौतारा नगरपालिकाका पूर्वमेयर रहेका तामाङले दोहोर्याएर उम्मेदवार हुन खोजेपछि विवाद भएको थियो। उक्त विवादमा सभामुख अग्नी सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले मेयरको टिकट पाएका थिए। उनी निर्वाचित भएसँगै तामाङ माओवादीबाट बाहिरिने तयारीमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।