काठमाडौं- एमालेको समानुपातिक सूचीमा महासचिव शंखर पोखरेलकी बहिनी मेनका पोखरेलदेखि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालसम्म अटाएका छन्।
एमालेले निर्वाचन आयोगका बुझाएको प्रतिनिधि सभा समानुपातिक सूचीको खस आर्य महिलाको क्लस्टरमा एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ। उनी एमाले महासचिव शंखर पोखरेलकी बहिनी हुन्।
त्यस्तै खस आर्यतर्फको पहिलो नम्बरमा रघुजी पन्त रहेका छन्। एमाले विभाजन हुँदा सुरुमा उनी माधव नेपालतर्फ रहेका थिए। तर नेकपा एकीकृत समाजवादी गठन हुने भएपछि मूल पार्टी एमालेतिर नै फर्केका थिए।
स्थायी समिति सदस्य पन्त यसअघि ललितपुरबाट निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भएर पराजित भएका थिए।
एमालेको समानुपातिकको महिलाको सूचीमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल आठौं नम्बरमा रहेकी छिन्। एमालेले समानुपातिकको दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।