काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संग्लन गर्नुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी सो जानकारी गराएको हो।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम रहेको छ।
‘निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयनपत्र साथ तपसिल बमोजिमका कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
१. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्ने छ।
२. प्रतिनिधि सभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
३. उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा।
४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची– ११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम।
५. प्रचलित कानुन बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहिछाप गरेको मनोनयन पत्र।
६. दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र, तर एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र।
७. प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेश सभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ। आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र।
८. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणा पत्र।
९. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण।
१०. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची १० बमोजिम आफू प्रचलित नियम कानुन अनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारम।
११. उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्स्योट भएको व्यहोराको निस्सा।
१२. लेखा परीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानी साथ असुल उपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्स्योट गरेको निस्सा।
१३. निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची ३ बमोजिमको प्रतिवद्धतापत्र।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।