काठमाडौं- एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङवाट उम्मेदवारी दिने निश्चित भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध विद्रोह गरेको आरोप लागेका भट्टराईले टिकट नपाउने चर्चा थियो।
अध्यक्ष ओलीले मनोनयन दर्ता गराउने तयारी गर्नु भनेर खबर गरेपछि उनले उम्मेदवारी दर्ता सम्बन्धी जरुरी सूचना जारी गरेका छन्।
‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न असोज २३ गते दिनको ११ बजे नेकपा एमाले ताप्लेजुङका सम्पूर्ण कमरेडहरु फुङ्लिङ बजारमा रहेको पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन हार्दिक अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
२०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका उनी दोस्रो पटक सोही जिल्लाबाट उम्मेदवार हुन लागेका हुन्।
एमालेले प्रदेश सभातर्फ 'क' मा तिलकुमार मेनेङ्बो र 'ख' मा मणिशंकर पोमोलाई उम्मेदबार बनाउने तय भएको छ।
प्रतिनिधि सभामा तिलकुमार आकांक्षी देखिएपछि योगेश समस्यामा परेका थिए। मेनेङ्बोलाई प्रदेश सभामा राखेर योगेशलाई प्रतिनिधि सभा सदस्यको टिकट दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।