काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाबीच क्षेत्रगत तालमेलका विषयमा भएको छलफल फेरि बस्नेगरी सकिएको छ।
असोज २३ (आइतबार) मनोनयन दर्ता गराउनुपर्ने दबाबका बीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफल सकारात्मक रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायतका नेताहरु छलफलका लागि बालकोट पुगेका थिए। छलफलमा राप्रपाले केही क्षेत्रमा दावी गरेको थियो।
राप्रपाले काठमाडौं- १, झापा, रुपन्देही, कपिलjस्तु, चितवन, धादिङ, हुम्ला लगायतका क्षेत्रमा दावी गरेको थियो। एमाले झापा, रुपन्देही दिन यसअघि नै सहमत भएको थियो।
अन्य केही क्षेत्रमा एमालेको पनि बलियो दावेदारी रहेका कारण उक्त क्षेत्रका बारेमा पुन: छलफल गर्ने अनि शनिबार टुङ्ग्याउने सहमति भएको राप्रपाका एक नेताले बताए।
उम्मेदवारी दर्ताको अघिल्लो दिन दुवै पक्षको दावी देखिएका केही क्षेत्रमा मिलाएर जाने सहमति भएको ती नेताले बताए। एमालेले राप्रपासँगै जनता समाजवादी र लोसपासँग पनि वार्ता गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।