काठमाडौं- निकै चासोका साथ हेरिएको चितवन क्षेत्र नम्बर ३ मा राप्रपासँगको वार्तापछि मात्र नेकपा एमालेले उम्मेदवार तय गर्ने भएको छ।
उक्त क्षेत्रमा एमालेले राप्रपाका विक्रम पाण्डेलाई सर्मथन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई समर्थन गर्ने गरी छलफल चलिरहेको छ। अहिले राप्रपा र एमालेका नेताहरुको वार्ता एमाले अध्यक्ष ओली निवास बालकोटमा भइरहेको छ।
वार्तापछि राप्रपालाई सर्मथन गर्ने कि आफैं उम्मेदवार तय गर्ने निश्चित हुने एमाले नेता देवी ज्ञवालीले बताए। हालसम्म चितवन क्षेत्र नम्बर २ को मात्र टिकटको टुङ्गो लागेको छ।
क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय भएको तर क्षेत्र नम्बर १ र ३ को उम्मेदवार भने टुंगो नलागेको एक नेताले बताए।
क्षेत्र नम्बर १ सुरेन्द्र पाण्डेको क्षेत्र हो। यसअघि उक्त क्षेत्रबाट उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाको नाम सिफारिस भएको थियो। उनीहरुमध्ये एकले टिकट पाउनेछन्।
क्षेत्र नम्बर २ मा भने प्रदेश सभा सदस्यहरुको उम्मेदवार समेत तय भएको छ। क्षेत्र नम्बर २ को ‘क’ मा कृष्ण सिलवाल र ‘ख’ मा देवी ज्ञवालीलाई टिकट दिने निश्चित भएको छ।
राप्रपासँग सहमति नभएमा क्षेत्र नम्बर ३ मा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको नाम सिफारिस भएकाले उनलाई नै उम्मेदवार बनाउने तयारी एमालेको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।