काठमाडौं- सत्ता गठबन्धनसँग लोकतान्त्रिक समाजवादीको संवाद सकारात्मक रहेको बताइएको छ। फेरि बसेर सिट बाँडफाँटको संख्या र क्षेत्रसहित सहमति गर्नेगरी छलफल टुंगिएको नेता जितेन्द्र सोनलले नेपाल लाइभलाई जानकारी दिए।
उनले भने, ‘आजै केहीबेरमा वा भोलि बिहान बसेर बाँकी सहमति गर्ने कुरा छ। सत्ता गठबन्धनसँगै तालमेल गर्ने कुरामा लगभग सहमति भयो।’ उनीहरू अहिले आन्तरिक छलफलमा छन्।
लोसपाका अर्का एक नेताका अनुसार नेताहरुले सुरुमा जनता समाजवादी पार्टी (जसपा)का लागि छुट्याइएको १६ सिट मागेका थिए। तर, गठबन्धनले मधेश प्रदेशमा १२ देखि १३ सिट दिन सकिने प्रस्ताव गरेको छ। एउटा लुम्बिनी प्रदेशमा सर्वेन्द्रनाथ शुक्लाका लागि पनि मागिएको छ।
मधेश प्रदेश सरकार भने सबैभन्दा ठूलो दलको नेतृत्वमा हुनुपर्ने भनिएको छ। अघिल्लोपटककै सुत्रअनुसार फेरि पनि सरकार बनाउनुपर्ने लोसपाको प्रस्ताव छ।
सबै विषयमा सत्ता गठबन्धका नेताहरु सकारात्मक रहेको लोसपा नेताहरुले बताएका छन्। जसपाले गठबन्धन छाड्ने संकेत गरेपछि सत्ता गठबन्धनले लोसपालाई बालुवाटार बोलाएका थियो। लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहितका नेताहरु बालुवाटार पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।