काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएपछि नयाँ विकल्पमा छलफल सुरु भएको छ। जसपालाई दिने भनिएका १६ सिटलाई छाडेर अन्यमा सहमति जुटाउने प्रयास थालिएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँटफाँटमा शुक्रबार बिहानैदेखि छलफल जारी छ। तर, उक्त बैठकमा सत्ता साझेदार जनता समाजवादी पार्टी अनुपस्थित भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार दिउँसो १२ बजेसम्म पनि जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत कोही नेताहरु सहभागी भएका छैनन्।
जसपाले मागे जति सिट दिन गठबन्धन तयार नभएपछि यादव बिहीबार बैठक बिचमै छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए।
सत्ता गठबन्धनले भन्दा ९ सिट बढी दिन सकिने प्रस्ताव एमालेले गरेको छ। गठबन्धनमा पनि जसपाले प्रतिनिधि सभामा २५ सिट मागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।