गुल्मी– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
निर्वाचनको लागि उम्मेदवारको मनोनय दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत माया कुँवरले बताइन्। मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायधीस बसन्तराज पौडेल तोकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको कुँवरले बताइन्। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर–१ हेर्ने जिम्मेवारी तोकिएको छ।
निर्वाचन क्षेत्र नम्बर–२ को कार्यालय रेसुङ्गा नगरपालिकाको शिक्षा विकास समन्वय ईकाई कार्यालयमा स्थपना गरिएको छ। निर्वाचन अधिकृतको रुपमा सर्बोच्च अदालतका रजिस्ट्रार शिवबहादुर थापालाई निर्वाचन अधिकृत तोकिएको छ।
निर्वाचनको लागि २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन्। जसमध्ये महिला १ लाख १३ हजार २९८ रहेका छन् भने पुरुष १ लाख १० हजार ३१७ जना रहेका छन्।
जिल्लाका २ निर्वाचन र ४ प्रदेश सभा निर्वाचनका लागि २७८ वटा मतदान केन्द्र रहेका छन्। निर्वाचन क्षेत्रअनुसार क्षेन नम्बर १ मा १ लाख १९ हजार २८८ जना मतदाता रहेका छन् भने क्षेत्रनम्बर २ मा १ लाख ४ हजार ३२७ जना मतदाता रहेका छन्।
निर्वाचनका लागि क्षेत्र नम्बर १ मा १५० र क्षेत्र नम्बर २ मा १२८ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।