काठमाडौं– शैक्षिक योग्यताका प्रमाणपत्रहरु शंकास्पद देखिएको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेकी एक किशोरीलाई पक्राउ गरेको छ।
फ्लाई दुबईको उडानमार्फत् काठमाडौंबाट दुबई जान लागेकी महिला यात्रुलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तर्फको सुरक्षा जाँच क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएकी १९ वर्षीया किशोरी भएको प्रहरीले जानकारी दिएको छ। उनको नाम भने खुलाइएको छैन।
प्रहरीका अनुसार उनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका कागजातहरु पेस गरी पर्यटक भिसामा विदेश जान लागेको भन्ने सूचना प्राप्त भएको थियो। विमानस्थलमा चेकजाँचका क्रममा ती किशोरीले बोकेका शैक्षिक योग्यताका कागजातहरु शंकास्पद देखिएको प्रहरीले दाबी गरेको छ।
प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीद्वारा पक्राउ परेकी ती किशोरीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।